जनता टाइम्स

२४ माघ २०७७, शनिबार १६:३६

प्रधानमन्त्री ओलीसँग प्रचण्ड–माधव–झलनाथ वा अरु नेताको तुलना नै हुनसक्दैन : बिष्णु रिमाल


काठमाडौं, माघ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य बिष्णु रिमालले प्रधानमन्त्री केपी ओलीसँग नेपालका अन्य नेताको तुलना नै हुन नसक्ने ठोकुवा गर्नुभएको छ । नेकपा नुवाकोट काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आज आयाजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकारसमेत रहनुभएका नेता रिमालले ओलीसँग कसैको तुलना नै हुन नसक्ने बताउनु भयो ।

‘प्रधानमन्त्री ओलीसँग प्रचण्ड–माधव–झलनाथ वा अरु नेताको तुलना नै हुनसक्दैन, प्रधानमन्त्रीले देश बिकासका लागि जसरी सोच्नुहुन्छ, त्यसअनुसार सोच्ने नेता वा पूर्वप्रधानमन्त्री कोही छैनन, प्रधानमन्त्रीको भिजनसँग कसैको तुलना नै हुन सक्दैन,’ रिमालले भन्नुभयो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसमेत रहनुभएका नेता रिमालले राष्ट्रियता, विकास र समृद्धिका आधारमा प्रधानमन्त्री ओलीका पक्षमा देशभर आकर्षण (क्रेज) रहेको बताउनुभयो । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँ–नयाँ योजना र कार्यक्रम ल्याउने सक्ने सोचका आधारमा ओली सबैभन्दा अब्बल भएको उहाँको तर्क थियो ।

उहाँले काठमाडौँमा आयोजित पार्टीको जनसभामा देखिएको उत्साहजनक उपस्थितिले पनि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा कार्यकर्ता र जनताको समर्थन प्रष्टै रहेको प्रमाणित भएको बताउनु भयो । उहाँले केरुङ–काठमाडौं रेलमार्गको सर्वेक्षण, गल्छी –त्रिशुली सडकको स्तरोन्नति, टोखा छहरे सुरुङमार्गको परिकल्पना आदि राष्ट्रिय महत्वका आयोजनाका कारण नुवाकोट सामरिक महत्वको जिल्लाका रुपमा विकास भएकाले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानमा विजयी गराउन आग्रह गर्नुभयो । नेता रिमालले निर्वाचन चिन्ह र पार्टीको आधिकारिता ओली नेतृत्वकै पार्टीले पाउने र तोकिएको मितिमा निर्वाचन हुने भएकाले निर्धक्क भएर त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले अस्थिरता र अराजकताविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराई निर्वाचन घोषणा गरेकाले पार्टीमा विवाद सिर्जना गरेर विरोध गर्नेहरुको आन्दोलनमा जनताको साथ नरहेको बताउनु भयो । गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य केशव पाण्डेले पार्टी छाडेर जानेहरुले या यही पार्टीमा निशर्त फर्कनुपर्ने या राजनीतिबाट सन्याश लिनुपर्ने स्थिति आउने ठोकुवा गर्नुभयो । नेकपामा नवप्रवेशी कमानसिंह लामाले आफू पार्टीमा कुनै पद र स्वार्थका लागि नभई प्रधानमन्त्री ओलीको राष्ट्रियताप्रतिको अडानलाई सघाउन प्रवेश गरेको बताउनुभयो ।