जनता टाइम्स

२४ माघ २०७७, शनिबार १९:४३

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं, माघ २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्नुहुँदै उहाँले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताउनुभयो । राष्ट्रियता प्रवद्र्धन हुने गीत सङ्गीत सृजना गर्न मन्त्री गुरुङले स्रष्टासँग आह्वान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्रेष्ठ, गीतकार देवेन्द्र केसी, गीतकार एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि देवकोटा, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, विज्ञापन बोर्डका सदस्य बलराम थापा, गायक राजनराज शिवाकोटी, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, नेपाल टेलिभिजनका सञ्चालक सदस्य बालकृष्ण बस्नेत, एल्बमकी प्रस्तोता तारा कार्कीलगायतले शालीन गीत एवं सङ्गीत, भाषा र संस्कृति रहेसम्म रहने भएकाले यसतर्फ स्रष्टाको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

विसं २०५६ देखि लोकगीतमार्फत् गायन क्षेत्रमा प्रवेश गर्नुभएका गायकको यो पहिलो गीति एल्बम हो । एल्बममा आठ गीत छन । सातवटा गीतमा गायक कार्कीको एकल गायन रहेको छ । एउटा गीतमा भने गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको जनाइएको छ ।