जनता टाइम्स

२५ माघ २०७७, आईतवार १८:१०

सर्वोच्च अदालतले सभामुखलाई दियो झट्का, अन्तरिम आदेश दिन अस्विकार


काठमाडौं, माघ २५

सर्वोच्च अदालतले संवैधानिक नियुक्तिका विषयमा सभामुखले दर्ता गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । परिषद्को बैठकमा आफै अनुपस्थित हुने र नियुक्त भएका विरुद्ध आफै मुद्दा बोकेर सर्वोच्च पुग्नु भएका सभामुख अग्नी सापकोटालाई शुरुवती झट्का लागेको हो ।

यद्यपी, रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सभामुखले नियुक्त भएकालाई काम गर्न रोक्नुपर्ने भन्दै अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

न्यायाधीश ढुंगानाको आइतबारको एकल इजलासले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । उक्त मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको छ ।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गर्नुभएको थियो ।