काठमाडौं, माघ २७
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका तयारीका विषयमा निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ । विशेषगरी बैशाख १७ र २७ गते तोकिएको निर्वाचनको तयारीका विषयमा छलफल भएपनि नेकपाको विवादका विषयमा पनि सामान्य कुराकानी भएको छ ।
‘माघ ११ गते आयोगले एउटा निर्णय दिइसकेको र माघ २० गते अर्को निवेदनपनि प्राप्त भएको जानकारी गराउनु भएको छ’, भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भन्नुभयो, ‘प्रमले निर्वाचन कानुन, हिजोका अभ्यासदेखी धेरै विषयका सन्दर्भमा जिज्ञासा राख्नु भएको छ र केही जानकारी गराउनु भएको छ ।’
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा करिव एकघण्टासम्म भएको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन आयोगलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले आफूहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव होस् भन्ने अपेक्षा गरिएको बताएको छ ।
‘हामी सबै निर्वाचनको तयारीमा जुटेका छौं । तोकिएकै समयमा निर्वाचन होस् । हामी त्यसका लागि तयार छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो । आयोगमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरु जानु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्