जनता टाइम्स

१ फाल्गुन २०७७, शनिबार २०:४७

प्रचण्डको निर्देशनमा जनयुद्ध शब्द नै गायब, माधव नेपालले बहिष्कार गरेपछि पूर्वमाओवादी खेमा असन्तुष्ट


काठमाडौं, फागुन १

तत्कालिन माओवादीका लागि फागुन १ गते ऐतिहासिक दिन हो । यो दिन जनयुद्ध दिवसका रुपमा सो समुहले मनाउदै आएको छ । पार्टी एकता भएर नेकपा बनेपनि जनयुद्ध शब्द लेखिएको ब्यानरमै कार्यक्रम हुने गरेको थियो ।

तर, यो फागुन १ गते भने पुष्पकमल दाहाल प्रचण्डको पद लोलुपताले त्यो शब्द नै गायब गरिएको छ । प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा ओर्लिएको प्रचण्ड समुहले केन्द्रीय कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको ब्यानरमा लेखिएको थियो, ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम ।’

एकीकरणपछिको पहिलो वर्ष ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीसँग मतान्तर भएपछि विभाजित नेकपाको उक्त समूहमा प्रचण्डसँगै माधवकुमार नेपाल पनि अध्यक्ष बन्नु भएको छ । यद्यपी निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन । यस वर्ष नेता नेपालले यो कार्यक्रमलाई प्राथमिकता दिएको देखिएन ।

उहा राजधानीबाहिर भएकाले सहभागी नभएको नेपाल निकट रहदै आउनु भएकाृ नेता रघुजी पन्तले जानकारी दिनुभयो । तर पूर्वमाओवादीका एक नेताका भनाइमा आफ्नै दलका अध्यक्षको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई समेत सम्झिने गरिएको पूर्वनिर्धारित कार्यक्रम थाहा हुँदाहुँदै अध्यक्ष नेपाल राजधानीबाहिर जाँदा त्यसलाई महत्त्व नदिइएको सन्देश गएको छ । तर यस वर्षको कार्यक्रममा जनयुद्ध’ भन्ने शब्द नै हटाइएको छ ।

पूर्व माओवादी नेताहरुले संयुक्त आन्दोलन गर्न सहज होस् भनेर जनयुद्ध शब्द नराखिएको बताएका छन् । नेता हरिबोल गजुरेलले अहिलेको विशिष्ट स्थितिमा संयुक्त आन्दोलनको वातावरण बनाउन मद्दत गरोस् भनेर सबैलाई समेट्नुपर्ने आवश्यकता ख्याल गरेरै नयाँ मोडेलमा लग्न खोजेको बताउनु भयो । उहाले जनयुद्ध इतिहास भएको र त्यो रहिरहने उल्लेख गर्नुभयो । कतिपयले पूर्वएमालेको असहमतिका कारण प्रचण्ड पक्षको नेकपाले ‘जनयुद्ध दिवस’ मनाउन नसकेको ठानेका छन् ।