जनता टाइम्स

२ फाल्गुन २०७७, आईतवार १४:२६

यो प्रश्नको उत्तर किन आएन भन्दै प्रधानन्यायाधीशले रिट निवेदकलाई सोधिरहे


काठमाडौं, फागुन २

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा आजबाट प्रत्युत्तर बहस शुरु भएको छ । बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारम्बार एक प्रश्न सोधिरहनु भएको छ । तर, रिट निवेदकका तर्फबाट उत्तर आउन नसकेको भन्दै प्रधानन्यायाधीशले भनिरहनु भएको हो ।

बहसमा प्रधानन्यायाधीश जबराले धारा ७६ (१) को सरकार हुँदा उपधारा २, ३, ५ विलोपीकरण भयो नि भनेर प्रश्न गर्नुभएको छ । कानून व्यवसायी दीनमणि पोखरेलले गरिरहेको बहसमा जबराले सोध्नुभयो, ‘धारा ७६(१) अनुसार बनेको सरकार हो भने उपधारा २, ३, ५ विलोपीकरण भयो नि ! सिधै उपधारा ७ मा पुग्ने भयो । मैले बारम्बार यही कुरा सोध्ने गरेको छु, कसैबाट पनि जवाफ आएको छैन । के हो ?’

बहसकै क्रममा जबराले फेरि सोध्नुभयो, ‘यो नेकपाको सरकार हो कि केपी ओलीको सरकार हो ?’तर पोखरेलले यो प्रश्नको उत्तर दिन नसकेपछि गोलमोटल बनाउदै अन्यत्र मोड्नु भएको थियो । प्रधानन्यायाधीश जबराले संविधानको धाराको मात्र व्याख्या गर्न भन्नु भयो । सबैले धारा भन्दा पनि मनको कुरा पोखेको भन्दै उहाले संविधानमा टेकेर दुवै पक्षले बहस गर्नुपर्नेमा जोड दिनुभयो ।