जनता टाइम्स

४ फाल्गुन २०७७, मंगलवार १०:५५

चुनावको पक्षमा स्पष्ट रुपमा उभियो कांग्रेस नेतृत्व, निर्वाचन तालिका सार्वजनिक नगरेकोमा असन्तुष्टि


काठमाडौं, माघ ४

नेपाली कांग्रेसको नेतृत्व स्पष्ट रुपमा बैशाखमा हुने निर्वाचनको पक्षमा उभिएको छ । यसअघि अस्पष्ट कुरा गर्दै आएपनि अहिले भने निर्वाचनको पक्षमा स्पष्ट रुपमा उभिएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका पैदा भएको बताउदै तत्कालै ल्याउन माग गर्नुभयो ।

उहाले अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताउनु भयो । ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन ? चुनाव नगराउने हो भने भन्नुपर्‍यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ भैरहवामा भएको सभामा देउवाले भन्नुभयो ।

उहाले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने बताउनु भयो । ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो। आयोग संविधान बाहिर जान सक्छरु उसलाई मतलब नै छैन। निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उहाले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्छु भने पनि आयोगले चुनाव गर्छु भनेर नभनेको देउवाको भनाइ छ । ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ?,’ उहाले भन्नुभयो, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो।’

निर्वाचन आयोगले निर्वाचनका लागि तयार छु भनेर जनतालाई भन्न नसकेको देउवाको भनाइ छ। ‘समयमै चुनाव गराउँछु भनेर बोलेकै छैन, किन केही बोल्दैन ?,’ उहाले भन्नुभयो ।