काठमाडौं, फागुन ५
नेपाली कांग्रेसले आगामी १४ औं महाधिवेशन भदौमा गर्ने तयारी गरेको छ। आज बेलुका बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । पूर्व निर्धारित तालिकाअनुसार यही फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो।
तर कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि दुई दिनअघि मात्र कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने तयारी गरेको हो। निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि एक वर्षअघि नै सकिएकोमा पार्टीको विधानअनुसार एक वर्ष थपिएको थियो। थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संवैधानको विशेष प्रावधानको सुविधा उपयोग गर्दै छ महिनामा थपिएको हो।
दुई बजे बस्ने गरी बोलाइएको बैठक बेलुका छ बजे सुरु भएको थियो। महाधिवेशनको क्यालेण्डरबारे शीर्ष नेताहरूबीच आन्तरिक छलफल र सहमतिपछि औपचारिक बैठक सुरु भएको थियो। सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खडकाले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नयाँ कार्यतालिका बैठकमा पेस गर्नुभएको थियो ।
उक्त कार्यतालिकालाई भोली बस्ने बैठकले निर्णय लिनेछ । कार्यालयमा बैठक सुरु हुनुअघि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरूबीच अनौपचारिक छलफल भएको थियो । आगामी जेठ मसान्तसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर भदौंमा महाधिवेश गर्ने सहमति भएको छ।













प्रतिक्रिया दिनुहोस्