जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार १६:२२

देउवाको आक्रोश : सडकमा जुलुस गरेर अदालतलाई दवाव दिने-धम्क्याउने हो भने अदालत किन चाहियो ?


पोखरा, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा बिचाराधिन मुद्दामा दवाव वा धम्की दिने काम अस्वीकार्य भएको पार्टीको बटमलाइन सुनाउनु भएको छ । नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सभालाई आज सम्बोधन गर्दै देउवाले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

उहाँले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई यो गर, त्यो गर भनेर दबाब र धम्की दिन नपाइने पक्षमा कांग्रेस प्रष्ट रुपमा उभिएको बताउनु भयो । ‘सडकमा जुलुस गरेर अदालतलाई दवाव दिने–धम्क्याउने हो भने अदालत किन चाहियो ?’ अदालतलाई धम्की दिने प्रचण्ड माधव समुहको काम र सोही समुहको मतियार बन्ने प्रतिस्पर्धामा रहेका आफ्नै दलका नेताप्रति कडा आक्रोश पोख्दै सभापति देउवाले प्रश्न गर्नुभयो । नेकपा प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुहले राष्ट्रपतिको घाँस देखाएपछि सो समुहसँग सहकार्य गर्दै कांग्रेसको स्थापित मान्यताबिरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेदसहितका केही नेता लागेपछि देउवाले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

उहाँले संसद विघटनविरुद्धको मुद्दामा अदालतको फैसलालाई कांग्रेसले स्वीकार्ने पनि प्रष्ट पार्नुभयो । ‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई ध्रुवीकरण गरेका छन् । देशै पक्ष–विपक्षमा बाँडिएको छ, हामीले यो बेला ओली या प्रचण्ड–माधव कसैको पक्ष लिनु हुँदैन,’ कांग्रेसको बटमलाइन सुनाउँदै देउवाले भन्नुभयो । अदालतको फैसलापछि संसद पुनःस्थापना वा चुनाव जे निर्णय भएपनि नेपाली कांग्रेस स्विकार्न तयार रहेको पनि सभापति देउवाले प्रष्ट पार्नुभयो ।

‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अदालतले जे भन्छ त्यही स्विकार्ने हो,’ पार्टी बटमलाइन सुनाउँदै देउवाले भन्नुभयो । केही दिनअघि प्रचण्डले चितवनका पत्रकारबीच देउवासँग सहमति हुनै लागेकोले संयुक्त आन्दोलन हुने भन्दै अफवाह फैलाउनु भएको थियो । देउवाको यो अडानपछि प्रचण्ड–माधव समुहसँगै बरिष्ठ नेता पौडेल पक्षको सपना तुहिएको छ ।