काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवार तथा आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वप्रति तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
“प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ”, राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ । विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ ।
प्रतिक्रिया दिनुहोस्