जनता टाइम्स

८ फाल्गुन २०७७, शनिबार १६:३३

प्रचण्डको पक्षबाट हजारौं नेता कार्यकर्ता आफूहरुको पक्षमा आउने गृहमन्त्री बादलको घोषणा


विराटनगर, फागुन ८

नेकपाका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम भएको बताउनु भएको छ । ओली समुहलाई छाड्न लागेको कुप्रचार र भ्रम प्रचण्ड–नेपाल समुहले हल्ला फिजाइरहेका बेला शनिबार विराटनगरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन संवैधानिक भएकोसमेत बताउनु भयो ।

‘प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम हो’, सभालाई सम्बोधन गर्दै थापाले भन्नुभयो, ‘यो कदम संवैधानिक पनि छ ।’ गृहमन्त्री थापाले देशको विकास, सुशासन र प्रगतिको निम्ति स्थायित्व अनिवार्य भएकाले त्यसका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जानकारी गराउनु भयो । विराटनगरमा भएको निक्कै नै भब्य र ठुलो सभालाई सम्बोधन गर्दै उहाले संसदीय फोहोरी खेलले देश अस्थिरताको दुष्चक्रमा फसेको र देशमा समस्या भएकाले यो कदम उठाइएको बताउनु भयो ।

उहाले संसद पुनस्र्थापना भए फेरि संसदीय फोहोरी खेल हुने भन्दै स्थायित्वका निम्ति सरकारले घोषणा गरेको चुनावमा होमिन अपिल समेत गर्नुभयो । उहाले संसद् पुनस्र्थापना भए फेरि फोहोरी खेल सुरु भए देशमा स्थायित्व नहुने बताउनु भयो ।

‘पुरानो संसद जसले अस्थिरता जन्मायो । सरकारलाई काम गर्न दिएन । सरकारका काममा अवरोध खडा गर्यो’, थापाले भन्नुभयो, ‘त्यसैले नयाँ प्रतिनिधिसभाको आवश्यकता भयो। त्यही आवश्यकताका लागि पुरानो संसदको विघटन र नयाँ संसदले मात्र यो देशमा स्यायित्व कायम गर्न सक्छ। देशको समृद्धिको यात्रालाई अगाडि बढाउन सक्छ ।’

गृहमन्त्री थापाले पूर्वमाओवादीका केही मन्त्री आफ्नो पक्षमा आउन लागेको भनी गोयवल्स शैलीको प्रचार गरेको बताउनु भयो । उहाले ओली पक्षबाट होइन, अब प्रचण्डको पक्षबाट हजारौं नेता कार्यकर्ता आफूहरुको पक्षमा आउने घोषणा समेत गर्नुभयो । ‘काठमाडौंमा उनीहरुले केही भ्रम फैलाउने प्रत्यन गरे ।उनीहरु देशब्यापी रुपमा किन झूटको सहारा लिदैछन् ? यो उनीहरुको आतंकको अभिव्यक्ति हो, भयको अभिव्यक्ति हो । उनीहरु गोयवल्स शैलीको सहारा लिदैछन्’, उहाको भनाई थियो ।