काठमाडौं, फागुन १०
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा परीक्षणका लागि पानी पठाउन शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै आजबाट पानी हालेर परीक्षण सुरु गरिएको हो ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम आयोजना गरी खानेपानी मन्त्री मणि थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीका अनुसार आगामी चैत २५ गतेसम्म सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको जलाशय भरिनेछ । जलाशय पनि भरिएपछि उपत्यकाको जनताको घरधुरीमा पानी कहिले छाड्ने भन्ने विषयमा भने छलफल भइरहेको खत्री बताउनु हुन्छ । उहाका अनुसार जनताको घरमा पानी छाड्ने दुईवटा विकल्पबारेमा छलफल भइरहेको छ । पहिलो सुरुङ भरिएको लगत्तै अर्थात् आजको १६ दिनपछि तत्काल उपभोक्ताको घरमा पानी छाड्ने । अर्काे, तुरुन्तै पानी छाड्नुभन्दा चेकजाँच (पाइप खाली गर्दै पानी छाड्दै) गरेर छाड्ने भन्ने बारेमा छलफल भईरहेको छ । चेकजाँचको विकल्पमा गइयो भने आगामी वैशाखमा उपभोक्ताका घरमा पानी पुग्छ ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताउनु भयो । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्