जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १५:१७

पार्टी एकताको समयमा भएका प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउँछ : उपप्रधानमन्त्री पोखरेल


चितवन, फागुन १० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधव समुहले जसरी सरकारले कुनै पनि संबैधानिक निकायलाई दवाव वा धम्की नदिने प्रष्ट पार्नुभएको छ ।

नेकपा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सरकारलाई अदालतदेखि सवै संबैधानिक निकायको कामप्रति बिश्वास रहेको भन्दै दवाव नदिने प्रष्ट पार्नुभएको हो । अहिले मुलुक निर्वाचनमय बनेको भन्दै उहाँले निर्वाचनसँग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको जानकारीसमेत दिनुभयो ।

नेकपा चितवनले आज आयोजना गरेको कार्यक्रममा सहभागी हुन चितवन आउनु भएका उपप्रधानमन्त्री पोखरेलले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तीब्र तयारीमा लागेको बताउनु भयो । नेता पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो ।

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उहाँले फैसलाको प्रतीक्षा गर्नुपर्ने बताउनु भयो । ‘अदालत र निर्वाचन आयोगलाई सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँले कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको बताउनु भयो ।

‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभया । उहाँले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास पनि ब्यक्त गर्नुभयो ।