जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार १५:५७

चुनावको तयारीमा लाग्न नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन


कञ्चनपुर, फागुन १०

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमय भएको बताउनु भएको छ । प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै उहाले सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

उहाले आफूले अदालतलाई धम्की वा दबाब नदिएको पनि स्पष्ट पार्नुभयो । ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन् । तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन ।’

कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि रचनात्मक आन्दोलन गर्न चाहेको प्रष्ट पार्नुभएको छ । उहाले आफूले अन्य पार्टी जस्तो ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनि लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताएको जानकारी गराउनु भयो ।

‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’ उहाले अगाडी भन्नुभयो, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन ।’