जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार ०९:४४

यसरी मनाइदै छ प्रधानमन्त्री ओलीको जन्मदिन : बालबालिकादेखि युवा र साहित्यकारसम्मको हुनेछ जमघट


काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिन आज विशेष कार्यक्रम गरी मनाइने भएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनमा युवा संघदेखि बालबालिका र साहित्यकारसम्मको जमघट हुने गरी जन्मदिनको कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको जन्मदिनको अवसरमा राष्टिय युवा संघ नेपालले विषेश कार्यक्रम गरी मनाउने तयारी गरिएको युवा संघ नेपालले जनाएको छ । युवासंघले आजै केन्द्रीय कमिटी वैठक आयोजना गरेको छ । सो बैठकमा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाइएको छ । सोही अवसरमा बिशेष कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीको जन्मदिन मनाइने इञ्चार्ज महेश बस्नेतले जनताटाइम्सलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओली युवा संघको संस्थापन अध्यक्ष समेत हुनुहुन्छ ।

युवा संघको बैठकपछि आजै दिउसो प्रधानमन्त्री ओलीले बालुवाटारमा बालबालिकासंग आफ्नो जन्मदिन मनाउनु हुनेछ । सो अवसरमा उहाँले लबालिकासंग अन्तरक्रियासहित कपी कलम र कापी वितरण गरिर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यस्तै प्रधामन्त्रीको जन्मदिनको अवसरमा पत्नी राधिका शाक्यद्धारा लिखित मेरा अनुभुति नामक पुस्तक विमोचन गरिने भएको छ । पुस्तक विमोचन कार्यक्रममा साहित्यकार, कलाकार र विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

यस्तो छ प्रधानमन्त्रीको आजको कार्यक्रम तालिका

प्रधानमन्त्री ओली विहान १० बजे मन्त्रिपरिषदको नियमित बैठकमा सहभागि हुनुहुनेछ । 
१२ बजे युवासंघको कार्यक्रममा सहभागि हुनुहुनेछ ।
२ बजे बालमन्दिरका बालबालिकासँग समय बिताउनुहुनेछ ।
४ बजे प्रथम महिला राधिका शाक्यद्धारा लिखित ‘मेरा अनुभूति’ पुस्तक विमोचनमा सहभागि हुनुहने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले आफनो ६९ औं जन्मदिन उहाँको जन्मस्थान आठराईमा मनाउनुभएको थियो । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मिनुभएको हो । उहाँको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।