जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार ११:४२

दुर्घटनामा परेका व्यक्तिको उद्धारमा आफै जुटे प्रदेश–२ का प्रमुख झा


जनकपुर, फागुन ११

प्रदेश–२ का प्रदेश प्रमुख राजेश झा दुर्घटनामा परेका व्यक्तिको उद्धारमा आफै जुट्नु भएको छ । बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुख झाले उद्धार गरेर अस्पताल पठाउनु भएको हो ।

जनकपुरधामबाट बाराको जितपुरस्थित एक कार्यक्रममा गईरहनु भएका प्रदेश प्रमुख झाले दुर्घटनामा परि छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गर्नुभएको थियो । ‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले भन्नुभयो, ‘यतिकै निजगढको जंगलमा दुर्घटना पछि घाईते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाए ।’

उहाले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताउनु भयो । प्रदेश प्रमुख झाले घाईतेको साथमा आफ्ना एक जना सुरक्षाकर्मीसमेत पठाउनु भएको थियो । उद्धारमा जुटेपछि कार्यक्रममा भने उहा केही ढिलो पुग्नु भएको थियो ।