जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार १२:३३

सुर्खेतमा देखियो बर्डफ्लु


विरेन्द्रनगर, फागुन ११

कर्णालीको सुर्खेतमा बर्डफ्लु (एच५एन८) देखिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

बर्डफ्लु देखिएको क्षेत्रबाट २७९ कुखुरा, १०२ परेवा, २२ अन्डा र ३१ किलो दाना नष्ट गरी सुरक्षित रूपमा तह लगाइएको विभागले जनाएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमणसमेत गरिसकिएको छ ।

बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकाय परिचालन गरिएको थियो । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न केन्द्रीयस्तरबाट समेत पशु चिकित्सकको विज्ञ टोली सुर्खेत पठाइसकिएको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । यसअघि माघ १६ मा उपत्यकामा बर्डफ्लु देखिएको थियो ।