जनता टाइम्स

१५ फाल्गुन २०७७, शनिबार २०:१५

अविश्वास प्रस्तावको हरिबिजोग भयो – नेता नेम्वाङ


काठमाडौं, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताउनुभयो । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उहाँको दाबी छ ।

नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताउनुभयो। संसद विघटन भएको दिनमा अविश्वासको प्रस्ताव लगेको सुनेको भन्दै उहाँले भन्नुभयो, ‘मरेको प्रतिनिधिसभा व्यूँतिएपछि त्यो अविश्वासको प्रस्ताव पनि बाँच्यो होला नि भन्दा साथीहरु चुइँ बोल्नुहुन्न ।’
‘किन नबोलेको भन्दा एउटा त अविश्वासको प्रस्तावको सदस्य संख्या ठीक होइन । अरु बेलाका लागि भनेर गरिएको हस्ताक्षर प्रयोग भयो भनेर प्रश्न उठकै हो’ उहाँले भन्नुभयो , ‘अर्कोतिर उहाँ कुद्दै कहाँ जानुभयो रे , त्यो ठाउँबाट तिमीहरुको आन्तरिक मामिलामा हामी किन पर्ने भन्दा अविश्वासको प्रस्तावको विजोग मात्र होइन, हरिबिजोग ।’ अविश्वासको प्रस्ताव हो भन्नासाथ अगाडि बढ्ने र फेल हुने उहाँको दाबी छ ।

नेता नेम्वाङले भन्नुभयो , ‘झन चाँडो निकालौैं भनेको केपी ओली त एक वर्षसम्म छुनै नसकिने भयो । त्यसकारण आज साथीभाइहरुलाई साह्रै अप्ठ्यारो पर्‍यो ।’ उहाले संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओली झन बलियो भएको दाबी समेत गर्नुभयो । संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि सरकार कामचलाउ भयो, महत्वपूर्ण निर्णयहरु गर्न पाइँदैन भनेको भन्दै नेम्वाङले भन्नुभयो , ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनस्थापित भयो, उहाँ झन दह्रो हुनुभयो ।’