जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार ०८:३१

प्रधानमन्त्री ओली आज पोखरा जाँदै : यस्ता छन् कार्यक्रमहरु


काठमाडौं, फागुन १७ । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत जाने कार्यक्रम छ ।

पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नुहुनेछ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभयो । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिप्रिmङ गर्ने छ । पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्वीमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमनत्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भन्नुभयो , ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनु हुनेछ ।’

यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा बोलाएको हो । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् । त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् । ओली सोमबारै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।