जनता टाइम्स

१७ फाल्गुन २०७७, सोमबार १९:३५

घाइते पत्रकार पण्डितको उद्धार : उपचारका लागि घोडामार्फत ल्याइयो कोल्टी


मार्तडी, फागुन १७

जिल्लाको पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिका–१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको प्रेस युनियन बाजुराले जनाएको छ । समाचार सङ्कलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन् ।

लडेर घाइते भएका पत्रकार पण्डितको आइतबार स्थानीय प्रशासन र प्रदेश सरकारले उद्धार गर्न पहल गर्दा पनि अबेर भएकाले उद्धार हुन नसक्दा आज स्थानीयवासी र प्रहरीको सक्रियतामा घोडामा ल्याइएको प्रेस युनियनका सचिव तथा पत्रकार प्रशान्तराज जोशीले राससलाई जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारी अनुसार विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि आज नै पण्डितको घोडामार्फत उद्धार गरिएको बताउनुभयो । घोडामा चढाएर पण्डितलाई हुम्ला जिल्लाको ताक्लाकोटबाट हिमाली गाउँपालिकाको गाडीमार्फत कोल्टी ल्याइएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्षको पहलमा गाउँका स्थानीयवासीको घोडामा सो ठाउँ पुर्याएपछि सडकको पहुँच भएको ठाउँमा गाउँपालिकाको गाडीमा कोल्टी ल्याइएको अध्यक्ष मल्लले बताउनुभयो । घाइते भएका पण्डितको थप उपचारका लागि हवाइ जहाजमार्फत नेपालगञ्ज पठाउने तयारी भएको अध्यक्ष मल्लको भनाइ छ । लडेर घाइते भएका पण्डितको टाउको र शरीरका अन्य भागमा चोट लागेकाले जिल्लामा सम्भव नहुने भएकाले हवाइजहाजमार्फत थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी थालेको मल्लले जानकारी दिनुभयो ।