जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार २२:५६

अख्तियारमाथि सर्वाेच्चको एक्शन : अदालतले मागको कागजातसहित १५ दिनभित्र हाजिर हुन अख्तियार सचिवलाई आदेश


काठमाडौं, जेठ २३

अदालतले मागेको काजगजात दिन आनाकानी गरेको भन्दै सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि नै एक्शन लिएको छ । सर्वोच्च अदालतले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई अदालतले माग गरेको कागजातसहित १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले आज अदालतमा बुझाउनु भनेको फाइल नदिएको भन्दै अख्तियारका सचिव न्यौपानेलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । आयोगका काम कारवाहीसम्बन्धी अभिलेख र रजिस्टर बिगत ५ वर्षदेखि उपलब्ध नगराएको भन्दै यस्तो अवस्थामा किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले प्रश्नसमेत गरेको छ । अदालतले माग गरेको सक्कल मिसिल, फाइलसमेत लिई उपस्थित हुन अख्तियारका सचिव न्यौपानेलाई आदेश दिएको हो ।

अदालतले मागेको कागजात नदिनु गम्भीर भन्दै आदेशमा कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरणसमेत अख्तियारसँग माग गरिएको छ । अदालतले २०७१ सालमै ताराराज पाण्डेको मुद्दासम्बन्धी अभिलेख पठाउन आदेश दिए पनि अख्तियारले अटेर गरेपछि यति कडा आदेश भएको हो ।

‘आयोग स्वयंले गरेको निर्णय, आयोगको आफ्नो काम कार्वाही सम्बन्धी रजिष्टरलगायतका अभिलेख पठाउन २०७१ साल भाद्रदेखि हालसम्म पटक पटक अदालतबाट लेखि पठाउँदा अहिले करिव पाँच बर्षसम्म पनि आदेश बमोजिमको अभिलेख कागजात उपलब्ध नगराउनु आपत्तिजनक देखिन्छ । यसबाट न्याय निरुपणमा ढिलाई भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएकोतथा मुद्दाका पक्षलाई अनावश्यक हैरानी हुन पुगेको देखियो । यस प्रकारको प्रबृत्ति स्वीकार्र हुनसक्दैन,’ सर्वाेच्चको आदेशमा भनिएको छ ।

हेर्नाेस आदेश

अख्तियारमाथि सर्वाेच्च अदालतले यति ठुलो एक्शन लिएको यो पहिलो पटक हो ।