जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार २३:१९

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी : एकको मृत्यु, सय बढी घाइते, घाइतेले भरियो सवै अस्पताल


धनगढी, जेठ २३

आज साँझ आएको भिषण हावाहुरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानका दर्जनौँ मानिस घाइते भएका छन् । करिब आधा घण्टा आएको हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने दुवै जिल्लामा परे सय भन्दा बढी घाइते भएका हुन् । हावाहरीमा परी कैलालीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिमका लेखक तथा पत्रकार तीर्थ भट्टराईका अनुसार कैलाली लालपुरका वीरबहादुर चौधरीको मृत्यु भएको हो । कैलालीमा एक सय जना भन्दा बढी घाइते भएका छन । जस्को धनगढीको सेती अञ्चल अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो र अत्तरियास्थित पद्मा अस्पतालमा घाइतेको उपचार भइरहेको छ भने विद्युत सेवा अवरुद्ध भएको छ ।

महाकाली अञ्चल अस्पतालका अनुसार तीन जना घाइते रिफर गरिएको छ । भीमदत्त नगरपालिका–१८ की ७ वर्षीय बालिका इभान चौधरी, भीमदत्त नगरपालिका १ बाराकुण्डाकी २४ वर्षीय सृजना धामी र भीमदत्त नगरपालिका(१२ ऐरीकी ४५ वर्षीय डम्बरी देवी कठायतलाई थप उपचारका लागि रिफर गरिएको अस्पतालले जनाएको हो ।

बालिका चौधरी चढेको अटो हावाले पल्टाउँदा उनी घाइते भएकी थिइन् । यस्तै, गोठमा रहेकी कठायतलाई काठले लाग्दा घाइते भएकी हुन । रूखको हाँगाले लाग्दा धामी घाइते भएकी हुन् । घाइते हुनेमा बेदकोट नगरपालिका ९ सुन्दरपुरका ११ वर्षीय प्राप्ती विष्ट, १३ वर्षीय प्रतिक विष्ट, भीमदत्त नगरपालिका १८ सालघारीका ३० वर्षीय विनोद तिरुवा, बेदकोट नगरपालिका–६ सुडाका ६ वर्षीय रोशन पनेरु, भीमदत्त नगरपालिका–७ हल्दुखालका १० वर्षीय पवन भट्ट, भीमदत्त नगरपालिका–१८ सालघारीका ५५ वर्षीय नवराज उप्रेतीलगायत रहेका छन् ।

कञ्चनपुरका ९ स्थानीय तहमध्ये भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका स्थानीय घाइते भएका छन् । अन्य स्थानीय तहका घाइते अस्पतालसम्म पुग्न सकेको छैनन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ज्ञान बहादुर विष्टले झोलुङ्गे र सालघारी प्रहरी चौकीको छानो उठाएको बताए । हावाहुरीका कारण विद्युतसेवा समेतअवरुद्ध भएको छ ।

यस्तै, कैलालीमा राति आएको हावाहुरीले ७ जना घाइते भएका छन । हावहुरिले घर भत्काउँदा धनगढीमा ६ जना र अत्तरियामा एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सुदाना चौधरीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक प्रकाश कंडेलले जानकारी दिए । हावाहुरीका कारणा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।