जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १७:००

संसद सचिवालयमा बिशाल भट्टराई नै नेकपाको प्रमुख सचेतक, सुविधा फिर्ता गर्न देव गुरुङलाई पत्र


काठमाडौं, फागुन १९ । संसद सचिवालयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नै मान्यता दिएको छ ।

सभामुख अग्नि सापकोटा प्रचण्ड–माधव समुहका आदेशपालक बनेपनि कानूनले दलका नेताले नियुक्त गरेको ब्यक्ति नै प्रमुख सचेतक हुने कानूनी प्रावधान रहेपछि संसद सचिवालयले नवनियुक्त भट्टरालाई नै नेकपा संसदीय दलको प्रमुख सचेतकको मान्यता दिएको हो । नेकपा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरी खोटाङबाट निर्वाचित सांसद भट्टराईलाई केही दिनअघि प्रमुख सचेतक नियुक्त गर्नुभएको थियो ।

प्रमुख सचेतक भट्टराईलाई संसद सचिवालयले कार्यकक्षसहित सुविधा उपलव्ध गराएको छ । संसद सचिवालयले भट्टराईलाई नै आधिकारिकता दिँदै रेकर्डमा राखेको छ । यसका साथै प्रमुख सचेतकले पाउने कार्यकक्ष, गाडीलगायतको सुविधा पनि भट्टराईले पाउने सचिवालयको भनाई छ ।
यो निर्णयसँग प्रमुख सचेतकका रुपमा सुविधा उपभोग गरिरहेका देव गुरुङलाई गाडीलगायतका सुविधा फिर्ताका लागि संसद सचिवालयले पत्र पठाएको छ ।

नेकपामा विवाद आएपछि गुरुङ पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा उभिनु भएको थियो । प्रतिनिधि सभा विघटनको सिफारिसपछि गुरुङले प्रचण्ड–नेपालको कित्ता रोज्दै प्रधानमन्त्री ओलीविरुद्ध भाषणबाजी गरेपछि उहाँलाई बर्खास्त गरिएको थियो ।

प्रमुख सचेतकले नेकपाका सांसदलाई संसदीय दलका नेताको आदेशअनुसार ह्वि जारी गर्नेछन । उक्त ह्वि नमाने कारबाहीका लागि सिफारिस पनि गर्न सक्नेछन । भट्टराईले प्रमुख सचेतक नियुक्त भएको भोलीपल्टै ह्वि नमान्नेलाई कारबाही गर्ने चेतावनी दिइसक्नु भएको छ ।