जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार ०७:१८

आज देशभरका अदालतमा शोक बिदा


काठमाडौं, फागुन २०। सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो । सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मनुभएका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो । उहाँले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गर्नुभएको थियो । संविधान र कानूनका क्षेत्रमा दख्खल राख्ने निर्भिक, अत्यन्त मिलनसार स्वभावका स्व सिंह न्याय र कानूनका क्षेत्रमा आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले देशले एउटा सच्चा न्यायप्रेमी गुमाएको सर्वोच्च अदालतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।