जनता टाइम्स

२० फाल्गुन २०७७, बिहीबार ०८:४१

फेरि सर्यो नेकपा नामको विवादमा फैसला आउने मिति


काठमाडौं, फागुन २० । सर्वोच्च अदालतबाट नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । फैसलाका लागि आजको मिति तोकिएकोमा आज अदालत बिदा भएकोले मिति पुनः पर सरेको हो ।

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पनि पछि सरेको हो ।

यसअघि गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गर्नुभएको थियो । सो निवेदनमाथि आज फैसला गर्ने भनिए पनि पछि सरेको छ ।