जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार ११:५८

सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड


काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने आकलन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राति नेकपा संसदीय दलका पदाधिकारीहरुसहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड–माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने कुरा उठेको एक नेताले बताउनुभयो । उहाँले भन्नुभयो ‘सभामुखको पारा अहिले पनि प्रचण्डको गुरिल्ला भन्दा माथि उठ्न सक्नुभएको छैन । आजै त बैठकमा नेताहरुले बोल्ने कुरा हुन्न,बहालवाला सांसदको निधन भएकाले श्रद्धाञ्जली दिएर सकिन्छ होला । तर प्रचण्डलाई दलको नेताको रुपमा बोल्न दिने सापकोटाको तयारी छ त्यसो भयो भने मुठभेड हुनसक्छ ।’

नेकपा कानूनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड(माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता भने पनि त्यसलाई सचिवालयले कानूनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ती गरे, आफ्नो पक्ष पनि जबर्जस्तीमै उत्रिने चेतावनी दिएको छ ।

सचिवालयले नेकपाको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिइसकेको छ । तर सभामुखले भट्टराईलाई भेट्न मान्नुभएको छैनन् । आज संसद बैठक अघि कार्यव्यवस्था परामर्श समिति बैठक बस्नुपर्छ । अहिलेसम्म भट्टराई र सचेतक शान्ता चौधरीसहित ओली पक्षका सांसदहरुलाई खबर नआएको बताइन्छ ।नेकपा विवादको असर कार्यव्यवस्था परामर्श समितिबाटै शुरु हुने देखिएको छ । कार्यव्यवस्थाको बैठक बस्ने कि नबस्ने भन्नेमै सभामुख परामर्शमा रहेको निकट स्रोतले जनाएको छ । परामर्शको बैठक नबसी सीधै संसद शुरु गर्ने कि भन्ने कोणबाट पनि छलफल चलिरहेको छ ।