जनता टाइम्स

२३ फाल्गुन २०७७, आईतवार १५:४४

कोभ्याक्स सुविधाको पहिलो खोप आइपुग्यो नेपाल


काठमाडौं, फागुन २३

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको खोपको पहिलो खोप नेपाल सरकारले प्राप्त गरेको छ । विभिन्न देशका सरकार, अन्र्तराष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य सङ्गठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप सरकारलाई आज प्राप्त भएको हो ।

कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरेका ३,४८,००० मात्रा अस्ट्राजेनेका खोपका साथै ३,५०,००० थान सिरिन्ज र ३,५०० थान सुरक्षित खोप बाकस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आजै हस्तान्तरण गरिएको छ ।

कोभ्याक्सका प्राविधिक एवं आर्थिक साझेदारका प्रतिनिधिहरूको उपस्थितिमा खोप हस्तान्तरण गरिएको हो । कोभ्याक्स सुविधाका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न सामाजिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरूले सहयोग गरेका छन् ।