जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार १०:०५

सूर्य चिह्न खोस्न गएका प्रचण्ड आफैं ‘भष्म’ : यसरी तुहिए प्रचण्डका सबै योजना


काठमाडौं, २५ फागुन । २०७४ सालको निर्वाचनमा चुनाव जित्न तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दै समृद्धिको नारा दिए । प्रचण्डले एक्लै चुनाव जित्ने अवस्था नदेखेपछि कम्युनिस्ट एकताको नाममा ओलीसँग हात मिलाए, चुनावमा फाइदा लिए ।
चुनावमा कम्युनिस्ट एकताको कुरा गरेकाले प्रचण्डले ओलीसँग हात मिलाउँदै पार्टी एकता गरेर ठूलो कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष बन्ने मौका समेत पाए । तर अन्ततः प्रचण्डको बेहाल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघाउजी भागबण्डा नदिएपछि रिसाउँदै गएका प्रचण्डले ओलीको राजीनामासम्म मागे । पूर्व एमाले पक्षकै माधवकुमार नेपाल, झलनाथ खनालसम्मलाई आफ्नो योजना अनुसार घुमाएर ओलीविरुद्ध परिचालन गरे । ओलीलाई तह लगाएर आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदै नेकपा कब्जा गर्ने प्रचण्डको रणनीति थियो । तर सबै असफल भयो । तत्कालीन नेकपा एमालेको लोकप्रिय चुनाव चिह्न सूर्यलाई कब्जा गर्न आधिकारिकता माग गर्दै प्रचण्डले निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए । यसबारे निर्णय नहुँदै सर्वोच्च अदालतले नेकपाको विवादमा फैसला सुनायो । त्यसपछि देश र राजनीति अर्कैतिर मोडिएको छ । हालै नेकपा संसदीय दलको बैठक राखेर प्रचण्ड दल नेता चयन समेत भएका थिए । प्रधानमन्त्री बन्न ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने छलफल चलिरहेको थियो । एकाएक सर्वोच्च अदालतबाट फैसला आएपछि प्रचण्डका सबै योजना तुहिएका छन् ।

अब प्रचण्ड न ठूलो पार्टीको अध्यक्ष छन्, न उनीसँग सूर्य चिह्न छ । अब प्रचण्ड संसदको तेस्रो दलको अध्यक्ष र दल नेताको हैसियतमा पुगेका छन् । प्रचण्डको दल नेकपा माओवादी केन्द्रभन्दा बढी सांसद नेपाली कांग्रेसका रहेका छन् ।

ठूलो दल नेकपा र सूर्य चिह्न कब्जा गर्ने योजनामा रहेका प्रचण्डलाई बरु घाटा लागेको छ । माओवादी केन्द्रमा प्रभावशाली मानिने नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायतहरू अब प्रचण्डतिर नफर्किने मूडमा पुगेका छन् । गृहमन्त्री समेत रहेका बादलको पहलमा देशभरका नेता कार्यकर्ता ओलीतिर लागेका छन्, जसले गर्दा प्रचण्ड नेतृत्वको माओवादी पार्टीलाई देशभर घाटा लागेको छ ।

प्रचण्डले माधव नेपालहरूको भर मानेर ओलीविरुद्ध चाल चलेका थिए । तर अन्तिममा माधव नेपालहरू प्रचण्डलाई छाडेर ओली नेतृत्वको नेकपा एमालेतिरै लागेका छन् । प्रचण्ड हेरेको हेर्‍यै भएका छन् ।

नेपाली राजनीतिमा आफूलाई चतुर खेलाडी ठान्ने प्रचण्ड आगामी निर्वाचनबाट कुन हैसियतमा पुग्लान् रु सर्वत्र चासो छ । तर प्रचण्डसँग कुनै पनि दल चुनावी गठबन्धन गर्न तयार नहुने अवस्थामा प्रचण्डको पार्टी साह्रै कमजोर अवस्थामा पुग्ने विश्लेषण भइरहेको छ ।

कुनै बेला शक्तिशाली रहेका डा। बाबुराम भट्टराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) मा विलय भएका छन्, त्यसरी नै प्रचण्डले २–४ सांसदसहित कुनै पार्टीमा विलय हुने अवस्था आउनसक्ने आकलन हुन थालेको छ । प्रचण्डको भविष्य अब के होला रु आगामी घटनाक्रमले निर्धारण गर्नेछ ।