जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार १५:५०

च्यासल पुगेर बादलले औपचारिक रुपमा सम्हाले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी


काठमाडौं, फागुन २९ । करीब चार दशक माओवादी धारको राजनीति गर्नुभएका गृहमन्त्री रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हाल्नु भएको छ ।

शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका बादलले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । बादलले एमालेको प्रदेश इन्चार्जको जिम्मेवारी औपचारिक रुपमा सम्हालेको अवसरमा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा उस्थित हुनुभएको थियो । आजै संगठन विभाग प्रमुख र प्रदेश इन्चार्जको उपस्थितिमा प्रदेश पदाधिकारीको बैठक बसिरहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।