काठमाडौं, चैत २ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको छलफल सकिएको छ । विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा बसेका थिए । नेपालका तर्फबाट छलफलमा सहभागी नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताउनुभयो । ‘हामीले आ आफ्ना अडान राख्यौं । यसरी वार्ता हुनुलाई पनि सकारात्मक रुपमा लिएका छौं । कुराकानी सकारात्मक भएको छ । फेरि पनि कुराकानी अगाडि बढाउने भन्ने छ,’ नेता पन्तले भन्नुभयो , ‘अध्यक्ष कमरेडले सकारात्मक रुपमा आगाडि बढाउनु हुनेछ भन्ने विश्वास छ ।
अदालतले सबैलाई एमाले बनाइदिएको हुँदा एमालेलाई एकताबद्ध बनाउने कुरामा अध्यक्षले जोड दिनुपर्छ ।’ नेता पन्तका अनुसार शुक्रबार ओलीपक्षको बैठकबाट भएका निर्णय विधानसम्मत नभएको र त्यो बैठकबारे आफूहरुलाई जानकारी नभएको अडान वार्तामा राखेको बताउनुभयो। नेता भीम रावलले भने एकपक्षीय रुपमा बसेको बैठकले गरेका निर्णय अवैधानिक भएको स्वीकार गर्न प्रधानमन्त्री ओली तयार नदेखिएको बताउनुभयो । छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी हुनुभएको थियो ।
ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।













प्रतिक्रिया दिनुहोस्