जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १७:०१

एमाले सकाउन माधव नेपाललाई ‘स्लीपर सेल’ को कमाण्डर बनाएर खटाइएको प्रचण्डको खुलासा



काठमाडौं, चैत ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले समाप्त पार्नका लागि माधव नेपाललाई स्लीपर सेलका रुपमा खटाइएको खुलासा गर्नुभएको छ । आफू निकट नेताहरुसँगको छलफलमा प्रचण्डले हिन्दी फिल्मको कपी गर्दै माधवलाई एमाले सकाउन ‘स्लीपर सेल’ को रुपमा तयार पारी कमाण्डर बनाएर पठाएको खुलासा गर्नुभएको हो ।

‘माधव–झलनाथहरु त जान मानिरहनु भएको थिएन, मैले नै एमाले सकाउन तपाईहरु त्यो हिन्दी फिल्ममा भन्छन नि, स्लीपर सेल, हो त्यही स्लीपर सेलको कमाण्डर बनाएर माधवजीलाई पठाइएको हो, उहाँहरुले यता (माओवादी) को योजनाअनुसार उता (एमाले) तिर ओली सकाउने काम गर्छन र फर्किने छन,’ माओवादीका आधा दर्जन नेतासँगको छलफलमा प्रचण्डको भनाई उधृत गर्दै सहभागी एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार अहिले पनि नेता नेपालले एमालेभित्र कसरी माओवादी नेताहरुलाई लखेटने भन्ने योजनालाई प्रारम्भिक रुपमा अघि बढाउनु भएको छ ।

‘बादलहरुलाई त्यताबाट यता लखेटने पहिलो काम भनेको छु, त्यसैअनुसार माधवजी २८ गतेको निर्णय मान्दिन भन्नुभएको छ, यो ठीक छ, बाँकी सवै यतैको योजना लागू हुन्छ,’ ती नेताका अनुसार प्रचण्डको भनाई थियो । प्रचण्डले एमालेभित्र बबण्डर मच्चाएर माओवादीमा आउने निश्चित भएकै कारण माधव समुहका कुनै पनि नेताको जिम्मेवारी हेरफेर नगरिएको जानकारीसमेत गराएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कू गर्न नसकेपछि पार्टी नै बिभाजन गरी हिडनुभएका प्रचण्ड र माधव समुहले अध्यक्ष ओलीलाई साधरण सदस्यबाट समेत निश्काशन गरी नयाँ जिम्मेवारी तोकेको थियो ।

केन्द्रीय कमिटी बैठक बसेर पनि कार्यबिभाजन नगर्नूको कारण माग्दा प्रचण्डले माधवजीहरु आउनु हुन्छ, त्यसैले पुरानै जिम्मेवारी कायम राख्नुपरेको बताउनु भएको ती नेताको भनाई छ । ‘माधवजीहरु हामीतिरै भएकोले नयाँ कार्यबिभाजन नगरिएको हो,’ प्रचण्डको भनाई थियो । सोही योजनाअनुसार केन्द्रीय कमिटी बैठक स्थगित गरिएको जानकारीसमेत प्रचण्डले गराउनु भएको छ । ‘एमालेबाट जति सकिन्छ धेरै मान्छे चोरेर यता ल्याउनका लागि जानुभएको हो, त्यसैले उहाँहरुलाई तोकिएको जिम्मेवारी यथावत राखिएको हो,’ केन्द्रीय कमिटी बैठक स्थगन र नयाँ जिम्मेवारी नतोक्नुको कारण दिँदै प्रचण्डको भनाई थियो