जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १७:०९

भारतको उत्तर प्रदेशमा वर्षा सहितको हावाहुरी र चट्याङबाट १९ जनाको मृत्यु, ४८ घाइते


लखनउ, जेठ २४

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताउनुभयो ।

उहाँले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिनुभयो । आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार दिने घोषणा गरेको छ । आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।