जनता टाइम्स

८ चैत्र २०७७, आईतवार ०८:४२

माधवसहित चार नेतालाई स्पष्टीकरण, पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई


काठमाडौं चैत ८ । नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो, त्यसमा चार मुख्य जिम्मेवार रहेको बैठकको ठहर छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चार नेताले दिने जवाफका आधारमा अरु प्रक्रिया अगाडि बढ्ने ज्ञवालीको भनाई छ । ‘फागुन २३ अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, तर त्यसपछि पनि लगातार गुटबन्दी गरिरहनु कदापि क्षम्य मान्न सकिँदैन,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

बाँकी नेताहरुको हकमा गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास एमालेले गरेको छ । बैठकले २–६ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णयअनुसार २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । यो निर्णयसँगै अब अध्यक्ष र महासचिवबाहेक नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी अव नहरेको एमालेले जनाएको छ । बैठकले नेताहरुको कार्यविभाजनको प्रस्ताव ल्याउन विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझीलाई जिम्मा दिइएको छ ।

बैठकले जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरित गर्न र समयै अधिवेशन गर्ने जिम्मा प्रदेश कमिटीहरुलाई दिइएको छ भने जनवर्गीय तथा पेशागत संगठनलाई पनि महाधिवेशन राष्ट्रिय सम्मेलनतिर उन्मुख गर्ने निर्णय गरेको छ ।