भक्तपुर, जेठ २३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आम नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने एक युगमा एक पटक आउने कार्यक्रम नै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ भएको ठोकुवा गर्नुभएको छ । भक्तपुरमा आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका बस्नेतले नेपाल सरकारले रोजगारीका लागि विदेश जानु आवश्यक छैन, नेपालमा नै युवाको योग्यता, क्षमता तथा दक्षताको आधारमा रोजगारीको वातावरण सिजर्ना गर्ने घोषणालाई व्यवहारमै लागू भएको बताउनु भयो ।
उहाँले नेपाल सरकारको यो अभियानले श्रमप्रतिको सम्मान गर्ने बताउँदै नेपालमा काम गर्न लजाउने प्रवृत्तिको अन्त्य गर्दै योग्यता, क्षमता तथा दक्षता अनुसारको काम गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । ‘कुनै नेपाली युवाले लाखौं खर्च गरेर होटल म्यानेजमेन्ट अध्ययन गर्छ, अनि नेपालको कुनै पनि होटलमा काम गर्न लाज मान्छ तर विदेशमा गएर चाँही सोही काम गर्न जाँगर चलाउने कार्यको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम आएको छ, जसबाट कामप्रतिको सम्मान हुन्छ । नेपालमा कामप्रतिको लैङ्गीक विभेदको अन्त्य गर्न महत्वपूर्ण भूमीका निर्वाह गर्छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम आफ्नो गाउँ आफै बनाउँ भन्ने मान्यतासँग जोडिएको बताउँदै उहाँले गाउँमा हुने विकास निर्माणका कार्यहरुमा उक्त कार्यक्रम लागु गरिने जानकारी गराउनुभयो । उक्त कार्यक्रम अन्तरगत काम गर्ने युवाहरुले न्युनतम ७ सय रुपैंया पाउने बताउँदै सांसद बस्नेतले रोजागरी बैंकको स्थापना गरी रोजगारीको खोजी गर्ने र रोजगार दातासँग समन्यव गर्ने प्रकारको आधुनिक प्रविधिको विकास गरी कुनै पनि युवाहरु रोजगारविहीन हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनु भयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो, ‘रोजगारी बैंकको स्थापना गर्नुपर्छ । प्रविधिसँग जोडिएर आधुनिक तवरले अघि बढ्नुपर्छ । विदेशमा एउटा किसानले काउली फलाएको प्रविधिको माध्मबाट फाइभ स्टारको होटललाई जानकारी हुने र होटलमा आवश्यक जनशक्ति लगायतका कामहरु एउटा रोजगारीको खोजी गर्ने व्यक्तिलाई सहजै रुपमा जानकारी हुने व्यवस्था रहेकोले नेपालमा पनि प्रविधिको विकास गर्नु अहिलेको अपरिहार्य रहेको छ ।’
बस्नेतले ‘गाउँघरमा आमा बुवा काम गर्ने मानिसको खोजीमा हुनुहुन्छ, छोरा छोरी जागिरको खोजीमा नेताको पछि दैडिने प्रवृत्ति’ रहेको भन्दै सो काम अन्त्य हुनेपर्नेमा जोड दिनुभयो । आफ्नो क्षमता अनुसारको काम गर्ने वातावरणको सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमले कामदार र कामदाताको पुलको रुपमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कतिपय मिडियाले अनावश्यक रुपमा प्रचार बढी भयो भनी प्रचार गरेको बताउँदै सांसद बस्नेतले हनुमन्ते नदीको सफाई अभियानले श्रम र मनप्रतिको सम्मान गरेको बताउनुभयो । उहाँले आधुनिक प्रविधियुक्त कृषि प्रणालीको विकास गरे करिव १२ लाख भन्दा बढीले रोजगारी पाउने, निर्माण भइरहेका क्षेत्रमा नेपाली युवालाई परिचालन गर्ने हो भने सात लाख युवालाई रोजगारी सिर्जना गर्न सकिने, भौतिक संरचना निर्माणको लागि विदेशी कामदार नेपालमा ल्याई काम गर्न लगाइरहेको वर्तमान समयमा त्यसलाई नेपाली जनशक्ति नै प्रयोग गरे पाँच लाख भन्दा बढी युवालाई रोजगारीको व्यवस्था गर्न सकिने बताउनुभयो ।
दक्ष जनशक्ति निर्माणको अभियान सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले वीसौं लाख नेपाली युवाहरु विदेशको विकास र समृद्धमा आफ्नो पसिना बगाईरहेको तर नेपालको समृद्धि तथा विकासको लागि उक्त युवाहरु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली युवाको पसिना नेपालमा नै बगाउन सके मात्र समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन सकिने बताउनुभयो ।
भक्तपुरले देखेको सपना साकार पार्न नेपाल सरकारले विशेष प्राथमिकता दिएको भन्दै सरकारलाई विशेष धन्यवाद समेत दिनुभयो । उहाँले सरकारले लोकप्रिय बजेट ल्याएको बताउँदै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु राष्ट्रिय सभागृह, आधुनीक वीर अस्पताल, स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, कोटेश्वरमा सुरुङ मार्ग, अरनीको राजमार्गको चौडाई विस्तारलगायतका ठूला ठूला आयोजनाहरु समेटेको जानकारी गरानुभयो ।
भक्तपुरका चार वटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको शुभारम्भ भएको हो । सूर्यबिनायकबाट कटुञ्जे–तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो ।
कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यबिनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत भक्तपुरका चार वटा नगरपालिकामा ७ सय जनालाई रोजगारी दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भसँगै भक्तपुर नगरपालिकामा रहेका चारवटै नगरपालिकाको बारेमा जानकारी गराउने मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्