जनता टाइम्स

८ चैत्र २०७७, आईतवार १६:३३

महेश बस्नेतको ठोकुवा : विकासप्रेमी प्रधानमन्त्री भएकाले विकासले गति लिएको छ


भक्तपुर, चैत ८ । पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले केपी शर्मा ओली जस्तो विकासप्रेमी प्रधानमन्त्री भएको कारण देशमा विकासका धेरै काम अघि बढेको बताउनुभएको छ । सांसद् विकास कोषको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत भक्तपुरमा विनियोजित बजेटबाट हुन लागेको अनन्तलिङ्गेश्वर सामुदायिक भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो ।

‘जताततै विकासको लहर आएको छ, बिकाशप्रेमी प्रधानमन्त्री भएकोले यी सव काम भएका हुन,’ भक्तपुर–२ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता बस्नेतले भन्नुभयो । बस्नेतले तीनवटै तहका सरकारको बजेटलाई प्रभावकारी ढंगले परिचालन गरी विकासका धेरै काम गर्न सकिने तथ्यसमेत राख्नुभयो । यसमा सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय जनताको हुने उहाँको निचोड छ ।

जनताले विकासको काम अवरोध गर्ने काम गरे विकासले गति नलिने उहाँले बताउनुभयो । विकासका काममा स्थानीयले जति धेरै सहयोग र निगरानी गर्छन् त्यति नै चाँडो र प्रभावकारी हुने उहाँको भनाइ छ । बस्नेतले असन्तुलित विकासको अन्त्य गर्नु पर्ने आजको आवश्यकता रहेकोमा पनि जोड दिनुभयो ।