जनता टाइम्स

१० चैत्र २०७७, मंगलवार १७:३८

नेपालमा दैनिक ४६ क्षयरोगीको मृत्यु, ४१ हजार उपचारको दायरा बाहिर


काठमाडौं, चैत १०

नेपालमा अझै ४१ हजार क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको तथ्य खुलेको छ । पछिल्लो तथ्यांक अनुसार हाल ४१ हजार क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको हो । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयरोगका बिरामी थपिने र तीमध्ये उपचारको दयारामा नआएकालाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नयाँ र पूरानो गरी करिब १ लाख १७ हजार बिरामी छन् तर गत आर्थिक वर्षमा भने १ लाख ५५ हजार ३ सय भन्दा बढी बिरामी पत्ता लागि राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।’ क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेकोछ । उहाँले निजी स्वास्थ्य सँस्थाबाट उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास भैरहेको उल्लेख गर्नुभयो ।

क्षयरोग केन्द्रका योजना, मुल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले कोरोनाबाट ७ जना क्षयरोगका बिरामीले ज्यान गुमाएको सुनाउनुभयो । हाल नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल विश्वमा औषतमा १५ प्रतिशत क्षयरोगबाट मृत्यु हुने पाइएको छ भने नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको छ ।

२४ मार्चको दिन विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न नारा सहित कार्यक्रम गर्दै मनाउने गरिन्छ। नेपालमा पनि यो वर्ष ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने मूल नाराका साथ मनाइने निर्देशक डा. अनुजले बताउनुभयो । त्यस्तै क्षयरोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी नहुँदा कार्यक्रम नै प्रभावित भएको बताइएको छ । क्षयरोग कार्यक्रमका लागि जनशक्ति कम हुनाले बिरामीको पहिचान र उपचारमा कठिनाई भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भट्टचनले जानकारी दिनुभयो ।

उहाँले केन्द्रदेखि जिल्लासम्म जनशक्ति कम रहेको बताउनुभयो । ‘केन्द्रमा कुरा गर्दा पहिला ७० जना हुनुहुन्थ्यो । अहिले ३० जनामा सीमित छ’ उहाँले थप्नुभयो, ‘यस्तै पहिला जिल्ला जिल्लामा क्षयरोग फोकल पर्सन हुनुहुन्थ्यो । संघीयतामा गएपछि सो जनशक्ति पनि छैन जसले गर्दा रिपोर्टिङ देखि नमुना संकलनसम्मको काममा असर पुरेको छ ।’

उहाँले सबै पालिकामा क्षयरोग हेर्ने स्वास्थ्यकर्मी भए क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन सहज हुने पनि बताउनुभयो । अहिले पालिकामा क्षयरोग कार्यक्रमका लागि छुट्टै स्वास्थ्यकर्मी छैनन् । वार्षिक रुपमा थपिने बिरामीको आँकडाअनुसार अहिले ४१ हजार क्षयरोगका नयाँ बिरामीलाई पत्ता लगाई उपचारको दायरामा ल्याउनुपर्ने केन्द्रले जनाएको छ

नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ। यो तथ्यांक अुनसार दिनमा ४६ जनाको मृत्यु क्षयरोगका कारण हुने गर्दछ । क्षयरोग माइकोब्याक्टिरियम ट्यूवरक्युलोसिस नामक सुक्ष्म किटाणुबाट श्वास–प्रश्वासको माध्यमबाट सर्ने गर्दछ । क्षयरोग ६ महिनासम्म नियमित औषधी खाए पुर्ण रुपमा निको हुन्छ । सरकारले अहिले ४ हजार ९५५ उपचार केन्द्रहरुबाट डट्स उपचार सेवा तथा ७६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवं २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाहरुबाट क्षयरोगको निदान गर्दै आएको छ ।