जनता टाइम्स

११ चैत्र २०७७, बुधबार ०८:४५

यसरी चकनाचुर भयो प्रचण्डको सपना


काठमाडौँ, चैत ११ । प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो ।

अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् ।

उहाँले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला जसपाका नेताहरु भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहनु भएको थियो । काँग्रेस नेताहरुका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा गर्यो भने भिन्न परिस्थिति खडा हुन सक्छ । माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो । काँग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउने सम्भावना देखिँदैन । प्रमुख प्रतिपक्षदलले नै यस्तो भनेपछि अव जुन सपना देखाएर प्रचण्डले आफु प्रधानमन्त्री बन्ने दाउमा अपनाएका सबै हत्कण्डा विफल भएको एमालेका एक नेताले बताउनुभयो । उहाँका अनुसार प्रचण्डको सवै अस्त्र फेल भएका छन् । भारतका लागि सहज सरकार बनाउने उहाँको सपनामा चकनाचुर भएको हो ।