काठमाडौं, चैत १७
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को अध्यक्ष पदमा प्रा.डा. गेहनाथ बराल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. बराललाई परिषद्को अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रा.डा. बराल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट सेवा निबृत्त प्राध्यापक हुनुहुन्छ ।

उहाँ जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिलको प्रधान सम्पादक समेत बनिसक्नुभएको थियो । यस्तै बैठकले एनएचआरसीको उपाध्यक्ष पदमा प्रा.डा. गौरब ढकाललाई नियुक्त गरेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ढकाल बरिष्ठ अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ यसअघि एनएचआरसीकै इथिकल रिभ्यु बोर्डको सदस्य समेत रहनुभएको थियो ।
यस्तै रिक्त सदस्य पदमा वीर अस्पतालका डेन्टल सर्जन प्रा.डा. बन्दना खनाल, बुटवलका रेडियोलोजिष्ट अवधेश तिवारी, डा. सन्तोष शाक्य इन्डोक्राइनोलोजिष्ट, आयुर्वेद अस्पताल कीर्तिपुरका डा. रामआधार यादव रहेका छन् । एक जना सदस्य पद भने रिक्त राखिएको छ । यसअघिका काउन्सिल अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा, उपाध्यक्ष डा. भोजराज अधिकारी सहित अन्य सदस्यहरुको गत १७ फागुनमा चार बर्षे कार्यकाल सकिएको थियो ।














प्रतिक्रिया दिनुहोस्