जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार २२:०८

विश्व स्वास्थ्य दिवसमा नेपाल स्वास्थ्य सम्मेलन हुँदै, सबै तयारी पुरा


काठमाडौं, चैत २२

विश्व स्वास्थ्य दिवसको अवसर पारेर अप्रिल ६ तारिकमा काठमाण्डुमा ‘आरोग्यादा ः स्वस्थ जीवनका लागि सबैको साथ’ भन्ने नाराका साथ नेपाल स्वास्थ्य सम्मेलन–२०७७ को आयोजना हुने भएको छ । राजधानीमा आज एक पत्रकार सम्मेलन गर्दै आयोजक टोलीले सम्मेलन हुने जानकारी दिएको हो । विभिन्न स्वास्थ्य विशेषज्ञहरूलाई एकसाथ ल्याएर स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमिकमजोरीहरु माथि एकै थलोमा छलफल गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय/अन्तर्रराष्ट्रिय परिप्रेक्ष्यमा स्वास्थ्य प्रणालीको कमीजोरीहरूको मुल्यांकन गर्नुका साथै यस सम्मेलनले हालसम्म हासिल गरेको प्रगतिबारे पनि छलफल हुनेछ । त्यस्तै स्वास्थ्य क्षेत्रमा भएका विभिन्न आयामहरुमा समीक्षात्मक छलफल तथा विश्लेषण गर्ने यस्ता छलफलहरुले नागरिकको चेतना वृद्धि गर्न, सरोकारवालाहरूलाई संवेदनशील बनाउन र दिगो विकासका लागि लक्ष्य प्राप्त गर्न योगदान पुर्याउँने मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक प्रकृति ढकालले जानकारी दिनुभयो ।

सम्मेलन स्वास्थ्य, अन्य क्षेत्रहरू र शिक्षाका विभिन्न पक्षहरूलाई एकीकृत गरी स्वस्थ नेपालको पुनर्निर्माणमा योगदान पुर्याउन सक्ने सम्मेलनले विश्वास लिएको कार्यक्रम निर्देशक तथा त्रिकाल प्रोडक्सनका अध्यक्ष विशाल घोषले बताउनुभयो । त्रिकाल प्रोडक्सन र अमेरिकी राजदुतावास युवा परिषदको आयोजनामा हुने यस सम्मेलनमा स्वास्थ्य मन्त्रालय र अमेरिकी राजदुतावासको सहयोग रहेको छ।

सत्र १ः स्वास्थ्य साक्षरताः सबैको एजेन्डा

जनता र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य साक्षरता एकदमै महत्त्वपूर्ण विषय हो । संक्रमित रोगहरू जस्तै कोभिड–१९ र अन्य स्वास्थ्य सम्बन्धित घटनाहरू रोक्नमा पनि यसको उत्तिकै महत्व रहेको हुन्छ । यस सत्रको उद्देश्य व्यक्तिहरूलाई गलत सूचना रोक्नका लागि सचेत बनाउने मात्र नभई तिनीहरूलाई उचित स्वास्थ्य निर्णय लिनको लागि सक्षम बनाउने पनि हो । यसका अतिरिक्त स्वास्थ्य साक्षरताले विभिन्न तहमा नीति निर्माताहरूलाई सार्वजनिक स्वास्थ्य चुनौतिहरू अझ प्रभावकारी रूपमा समाधान गर्न सहयोग पुर्याउँछ ।

सत्र २ : कोभिड–१९ महामारी र दिगो विकास लक्ष्य :

कोभिड–१९ लाई हाम्रो स्वास्थ्य प्रणाली सुदृढ पार्न र अझ राम्रो बनाउनको लागि एक परिवर्तनकारी अवसरका रुपमा पनि लिन सकिन्छ । यस सत्रको लक्ष्य छलफललाई अगाडि बढाउनु हो।

सत्र ३ : स्वास्थ्य नीति पुनरावलोकन

हाम्रो स्वास्थ्य नीतिको विश्लेषणले हामीलाई समयसँगै स्वास्थ्य मागको आवश्यकताहरू पूर्ति गर्न स्वास्थ्य नीतिहरू कसरी विकसित हुनुपर्दछ भनेर बुझ्न मद्दत पुर्याउँछ।

सत्र ४ : स्वस्थ नेपालको लागि मुलधार संचारमाध्यमको भूमिका

संचारमाध्यमले नागरिकको स्वास्थ्य सुनिश्चित गर्न, नीति परिवर्तन गर्न र जनसमुदाय स्तरमा जागरूकता बढाउन महत्वपुर्ण भूमिका खेल्न सक्छ। यस सत्रको लक्ष्य भनेको स्वास्थ्य क्षेत्रमा मुलधार संचारमाध्यमको भूमिकामाथि प्रकाश पार्ने हो । यस सम्मेलनको समापनसँगै स्वास्थ्य नीति निर्माताहरूले स्वास्थ्य प्रणालीले सामना गरिरहेका विभिन्न चुनौतीहरू समाधानको दिशातर्फ लाग्ने छन् भन्ने अपेक्षा पनि रहेको छ।

सबै सत्रमा एक/एक जना मध्यस्तकर्ताका साथमा ४/४ जना विज्ञहरुको सहभागिता रहने पनि आयोजक कमिटिले जनाउको छ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिने र स्वास्थ्य क्षेत्रमा अतुलनीय सेवा प्रदान गर्नेलाई “आरोग्यदा सम्मान” बाट सम्मानित गरिने बताइएको छ ।