जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १५:३५

तीन वर्षभित्र शतप्रतिशत खानेपानी सेवा पुर्याउने मन्त्री बिना मगरको संकल्प


काठमाडौं, जेठ २५

खानेपानीमन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताउनुभएको छ । नेपाल नगरपालिका संघले आज काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उदघाटन गर्दै खानेपानीमन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको प्रष्ट पार्नुभएको हो ।

मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पुर्याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकतापनि औंल्याउनु भयो । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य पूरा गरेरै छाडने उहाँको भनाई थियो ।

‘एकातिर सबै जनतालाई खानेपानी पुर्याउनुपर्ने चुनौति छ भने अर्काेतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन । बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गईरहेको छ । सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं,’ मन्त्री मगरले भन्नुभयो ।

आगामी आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको जानकारी पनि उहाँले दिनुभयो । कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि ?’ भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गर्नुभएको थियो ।

नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख (मेयर) अशोककुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गर्नुभयो ।

खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको अध्यक्ष ब्याञ्जुको भनाई थियो ।