जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १६:५८

सञ्चार क्षेत्रलाई सञ्चारमन्त्री गुरुङको सुझाव : समुदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न


काठमाडौं, चैत ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको भन्दै जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सामूदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव) का नवनिर्वाचित कार्यसमितिलाई आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाई ज्ञापन गर्दै उहाँले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मापदण्ड अनुसार अघि बढने विश्वास पनि ब्यक्त गर्नुभयो ।
‘सामूदायिक रेडियोहरु तय गरिएका मापदण्ड अनुसार चल्नुपर्ने हुन्छ, समूदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न,’ ’ मन्त्री गुरुङले भन्नुभयो, । सो अवसरमा उहाँले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।