जनता टाइम्स

४ बैशाख २०७८, शनिबार ०८:२५

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक, यी हुन एजेण्डा


काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफलका लागि संसदमा रहेका राजनीतिक दलहरूको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि सर्वदलीय बैठक डाकिएको हो । विघटित प्रतिनिधि सभा पुनःस्पना र नेकपा (नेकपा) मा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्नुभएको संसदमा रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिनुभएको छ ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन । निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफै टेलिफोन गर्नुभएको थियो ।