जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार २१:०१

कांग्रेसको आवश्यकता सकिएको घोषणा गर्दै क्षेत्रीय सचिवसहित तीन सय बढी कार्यकर्ताले रोजे सत्तारुढ नेकपा


गोरखा, जेठ २५

नेपाल तरुणदलका क्षेत्रीय सचिव भरतप्रसाद रेग्मीसहित नेपाली काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामशरण बस्नेतले काङ्ग्रेस र समाजवादी पार्टीका नेता कार्यकर्तालाई नेकपामा पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा दुवै पार्टीका गरी शहीद लखन गाउँपालिका–७ का ११४ जना र वडा नं ८ का ११५ र गोरखा नगरपालिकाका चार जना काङ्ग्रेस र समाजवादी पार्र्टी छोडेर नेकपा प्रवेश गरेकोे नेकपा शहीद लखन गाउँपालिका अध्यक्ष मनोज जोसीले जानकारी दिनुभयो ।

पार्टी पवेश गर्नेमा नेपाली काङ्ग्रेस तरुणदलका क्षेत्रयी सचिव रेग्मीसहित क्षेत्रीय सदस्य भक्त ढकाल, काङ्ग्रेस निकट होचा पुड्का सङ्घका केन्द्रीय अध्यक्ष निर्मल मगराती रहनुभएको छ । उहाँहरुलाई नेकपाका केन्द्रीय सदस्य बस्नेतले माला, खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

देशमा अब आर्थिक क्रान्तिको नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै काङ्ग्रेस पार्टीमा रहनुको कुनै औचित्य नभएकाले नेपाली काङ्ग्रेस परित्याग गरेको तरुण दलका क्षेत्रीय सचिव रेग्मीले बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य बस्नेतले देशले राजनीतिक परिवर्तनको कोर्ष पूरा गरिसकेको भन्दै अब आर्थिक क्रान्तिका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।