जनता टाइम्स

५ बैशाख २०७८, आईतवार १८:३४

प्रचण्डको सेवा गर्नकै लागि आफ्नो समुह खडा भएको माधव नेपालको स्वीकारोक्ति


बनेपा, बैशाख ५ । एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सेवा गर्नु नै आफूहरुको धर्म भएको स्वीकारोक्ति गर्नुभएको छ । सर्वाेच्च अदालतको फैसलापछि सांसद पद जोगाउन एमाले फर्किएको नाटक गरी इमान्दार नेता कार्यकर्ता चोर्न लाग्नुभएका नेता नेपालले काभ्रेमा आज आयोजित गुट भेलामा बोल्दै प्रचण्डको सेवा नै आफूहरुको धर्म रहेको स्वीकारोक्ति गर्नुभएको हो ।

एमालेबाट अलग भएर माओवादीमा बिलय हुने अन्तिम गृहकार्यसहित समानान्तर कमिटी गठनमा लाग्नुभएका नेता नेपालले कर्णाली प्रदेशमा माओवादीको सरकार जोगाएर आफूहरुले ऐतिहासिक काम गरेको बताउनु भयो । ‘कर्णालीमा देखाइ दियौं, राजनीतिक भविष्य नै सिध्याइदिने भनेपछि मर्ता त क्या नही कर्ता भन्ने अवस्था आएपछि उसै (यमलाल कँडेल) लाई सिध्याइदिए । उनको अहिले बिजोग भएको छ,’ कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने चार सांसदको बचाउँ गर्दै नेपालले भन्नुभयो ।

नेपालले यमलाल कँडेलको नाम नलिई आफू मुख्यमन्त्री बन्दैछु भनेर अरु पक्षलाई राजनीतिक भविष्य जोगाउने हो भने मलाई साथ देऊ भन्दै भन्दै राजनीतिक भविष्य सिध्याइदिने धम्की दिएपछि उल्टै उनैलाई सिध्याइदिएको भन्दै आनन्द लिनुभयो । नेपालले नेकपा एमालेमा नरहने घोषणा पनि गर्नुभयो । ‘एमालेमा नरहन सकिन्छ तर कम्युनिष्ट आन्दोलन जोगाउने हामीहरू नै हो,’ नेपालको भनाई थियो ।

नेपालले पत्रकार महासंघको चुनाव र कर्णाली प्रदेशमा सबै दलहरूसँग मिलेर केपी ओलीलाई हैसियत देखाइदिएको भन्दै मुस्कान दिनुभयो ।
‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो । हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ,’ नेपालले भन्नुभयो, ‘केपीलाई हामीले देखाइदियौं ।’