जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १२:०६

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य, सभामुख नै बाधक बनेपछि हुनै सकेन कुनै काम


काठमाडौं, बैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले आजै दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले आज संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ /१/६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ः०० बजेदेखि अन्त्य गरेको छु,’ पत्रमा भनिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते संसद् विघटन गरेकोमा सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो ।

पुनःस्थापनापछि आह्वान भएको संसद बैठक आजबाट अन्त्य भएको हो । सभामुख अग्नि सापकोटाले सरकारले संसदलाई दिएको बिजनेश रोकेर राखेपछि अधिवेशन जारी रहे पनि केही काम गर्न सकेको थिएन । सभामुख नै संसदको काममा बाधक बनेपछि सरकारले बर्षे अधिवेशन बोलाउने गरी हिउदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।