जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १३:५४

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता, जसपाको निर्णयबिनै केही सांसदले गरे हस्ताक्षर


काठमाडौं, बैशाख ६ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का केही सांसद्ले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । जसपाको नाम आएपनि आफूहरुले भने अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेको जसपा लुम्बिनी प्रदेश संसदीय दलको नेता सन्तोष पाण्डेले जानकारी दिनुभयो । ‘बैठक पनि बसेको छैन, हामीले अविश्वास प्रस्तावमा समर्थन गरेका पनि छैनौं, केही सांसद्ले गरेका भए जानकारी छैन,’ पाण्डेले भन्नुभयो । अबिश्वासको प्रस्तावमा सहसराम यादव लगायत जसपाका केही सांसद्ले मात्र हस्ताक्षर गर्नुभएको छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका ४१, माओवादीका २० कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेश सभा सदस्य छन् । एमालेमा लागेका दुई जनालाई कारबाही गरेपछि अब माओवादीका १७ सांसद् मात्रै छन् । नयाँ सरकार बनाउन ४३ सांसद् चाहिन्छ ।