काठमाडौं, बैशाख ७ । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । आफू निकट धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेता नेपाल इतिहासकै कठिन परिस्थितिमा पुग्नुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा औपचारिक रुपमा नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ। जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरूले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न चर्काे दबाब बढेको छ । नेता नेपाल कहिल्यै चुनाव नजित्ने केही ब्यक्तिको सुझाव मानेर एमाले बिभाजन गरी माओवादीमा बिलय हुने योजनामा लागेपछि अधिकांशले त्यसो नगर्न र गरे आफूहरुको साथ नहुने बताइसकेका छन ।
‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ। माधव नेपाल आफैं पनि यो विषयमा मौन देखिनुभएको छ। पार्टी विभाजन गरेर माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन’, नेपाल पक्षका एक नेताले जनताटाइम्ससँग भने, ‘ओली पक्षले एकएक गर्दै नेपाल पक्षका नेता चोर्न थालेको छ। त्यसमाथि माओवादीसँग पार्टी मिलाउने भनेपछि अधिकांश नेताले नेपालको साथ छाड्ने सम्भावना छ। अहिले आन्तरिक संघर्षका लागि र समानान्तर कमिटी गठन भनेका कारण नेपाललाई साथ दिएका हुन्। विभाजन हुने अवस्था आउँदा अहिलेकै हाराहारीका नेताकार्यकर्ता नेपालसँग जान कठिन छ’, नेपाल पक्षका एक नेताले भने। उनका अनुसार नेता नेपालसामु धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा सहमत छैनन्।
माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले केही दिनअघि माधव नेपाल माओवादीमा बिलय हुन तयार भइसकेको खुलासा गरेपछि नेपाल थप अप्ठ्यारोमा पर्नुभएको छ । पौडेलले माओवादी र माधव नेपाल समूहसँग चाँडै नै पार्टी एकीकरण हुने भनाइ केही दिनअघि सार्वजनिक गरेका थिए। यसैबीच नेपाल पक्षधर केही नेता अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी भएका छन्। ओलीले सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको थियो। बैठकमा नेपाल समूहका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेयाङ्बो र सोम मिश्र सहभागी हुनुभयो । यसअघि नै नेपाल पक्षधर नेता लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत संस्थापनतिर लागिसक्नु भएको छ । नेपाल पक्षका सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतका नेताले पार्टी विभाजन गर्नु हुँदैन भन्ने मत राखिरहनु भएको छ ।
एक महिनाअघि नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने सम्भावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयको राजनीतिक प्रतिवेदन सो समूहको केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए। उनको प्रस्ताव बैठकले अस्वीकार गरेको थियो। त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुईमहिने कार्यक्रम घोषणा गरेको थियो। त्यसपछि खनाल–नेपाल समूहले सातवटै प्रदेश इन्चार्ज तोकेर समानान्तर कमिटी बनाउन थालेको थियो। नेपाल पक्षले ६७ वटा जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ। पार्टी बिभाजन गर्नकै लागि गठन गरिएको समानान्तर कमिटी पनि बिभाजनमा गए नेपालतिर नलाग्ने लगभग निश्चित भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्