जनता टाइम्स

७ बैशाख २०७८, मंगलवार १७:१२

एमालेमै बसिन्छ भन्दै कर्णालीका चार सांसदले छाडे माधवको साथ


काठमाडौं, बैशाख ७। माधव नेपाल पक्षमा खुलेका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका छन् ।

सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाड्नु भएको हो । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । प्रधानमन्त्री ओलीसँग छलफलपछि नेपाल समूह छाडेकाले ६ वैशाखका एमालेले उहाहरूसँग स्पष्टीकरण नमागिएको हो ।

नेपालसँगको भेटमा यो टोलीले आफूहरू फुटको पक्षमा नरहेको बताएका थिए । घोषित रुपमा साथ दिन नसक्ने नबताए पनि पार्टी विभाजनको अवस्थामा एमालेमै रहने उनीहरूले नेता नेपालसँग भनिसकेका छन् । यो टोलीले केपी ओलीसँगको भेटमा पनि फुटबाट जोगाउने भूमिका खेल्न आग्रह गरेका थिए । संचारकर्मीसंग कुरागर्दै सांसद शाहीले आफूहरू फुटको पक्षमा नरहेको बताउनु भएको थियो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल समूह छाडेको भन्दा पनि फुटको पक्षमा नरहेको र विभाजनको अवस्थामा एमालेमै रहने प्रधानमन्त्रीलाई बताएका थियौँ ।’