जनता टाइम्स

८ बैशाख २०७८, बुधबार १५:५६

एकैपटक एक सय बढी गिद्ध मृत फेला, विषले मरेको सिनु खाएको आशङ्का


नवलपरासी, बैशाख ८ । पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवस्थामा पुगेका सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेका छन् ।

पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सय भन्दा बढी संख्यामा गिद्ध मृत फेला परेको स्थानयवासी सम्भु उपाध्यायले जानकारी दिनुभयो । रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा मैदान नै भरिने गरी एक सय भन्दा बडि संख्यामा गिद्ध बुधवार विहान मृत अवश्थामा फेला परेका हुन । यति धेरै संख्यामा प्रकृतिका कुचिकार मानिएका गिद्धको मृत्यु कसरी भयो भन्ने तथ्य खुल्न सकेको छैन ।

खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाएपछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि तथ्य खुलिसकेको छैन । पशुमा उपचारका क्रममा डाईक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको ईन्जेक्सन पछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाए पछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहने गर्दछ । नेपालमा डाईक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाईएको छ । प्रतिबन्ध भए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सिमानासंग जोडिएको हुनाले कसैले यो औषधि भारतबाट ल्याएर प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

पश्चिम र पुर्वी नवलपरासी जिल्लाको माथिल्लो भागमा रहेको चुरे पहाड क्षेत्रमा अनेक प्रजातिका गिद्धहरुको वासस्थान रहेको अवश्थामा यसरी सयौंको संख्यामा गिद्धहरुका अचानक मृत्यु हुनुले प्रकृति प्रेमीहरुलाई चिन्तीत बनाएको मानवअधिकार कर्मी एवं सामाजिक अभियन्ता बृजराज कुशवाहले बताउनु भयो । यति धेरै संख्यामा लोपोन्मुख चरा गिद्धको मृत्यु भएको घटनाको छानविन गरिनु पर्ने माग समेत उठन थालेको छ ।