जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १४:५७

मेरियट होटलमा सुरु भयो ओली–नेपाल दोस्रो वार्ता


काठमाडौं, बैशाख ९ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो भेटबार्ता सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र नेता नेपालबीच केहीबेर अघिबाट नक्सालस्थित मेरियट होटलमा भेटवार्ता सुरु भएको हो ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा लामो छलफल भएको थियो । सोही छलफलमा नेता नेपालले आफ्नो समुहका नेताहरुसँग छलफल गरी पुनः बार्तामा बस्ने बताउनु भएपछि एकताका लागि हदैसम्म लचक हुनुभएका अध्यक्ष ओलीले आज पनि बार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । हिजोको बार्तामा भएको सहमतिअनुसार दुई नेताबीच आज पुनः भेटवार्ता सुरु भएको हो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे जानकारी दिँदै पार्टीमा रहेर काम गर्न नेता नेपाललाई सुझाउनु भएको थियो । हिजोको भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको थियो । यद्यपी सहमति भने हुन सकेको छैन ।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने बताइएको छ ।